राजु लामाको जीवन कहानी, ‘बादलु’देखि ‘दी भ्वाइस अफ नेपाल’सम्मको यात्रा (भिडीयो सहित)
September 1, 2019 | Gyanlama | 1:12 pm


धुलिखेल,
संगीतको डुङ्गामा चढेर देश–विदेश शयर गर्ने सपना थिएन राजु (लामा)को, जुन बेला उनी सानै थिए । भलै उनी गीत गाउँथे । अरुण थापा र अरुणा लामाका गीत उनी कक्षा कोठामा गाउँथे । शिक्षक तथा साथीहरुले वाह ! राजु क्या ! राम्रो स्वर छ भन्थे ।
दङ्ग पर्थे राजु । उमेर पनि त्यस्तै थियो ।

ad ad
सपना त उनलाई समाजले थाहै नपाई बोकाइदिएको थियो । लामा समुदाय ब्रिटिस लाहुरमा जाने चलन थियो । टिनएजदेखि नै तयारी घरघरमा युवाहरु सके र जानेको तालिम गर्थे भर्ती हुनका लागि । राजु पनि लामा । टिनएज पनि आयो । साथीसङ्गतीकै सङ्गत । जब आउन लाग्थ्यो भर्तीको समय । सुरु हुन्थ्यो भर्तीको वार्मअप ।
यूके छिरेर खुट्टामा कालो बुट, शरीरमा कमब्याट अनि काँधमा राइफल भिरेर परेड खेल्ने मनभरी सपनाको भारी बोकेर राजु पुगे पोखरा । दुई पटक । तर गल्लाले उनलाई पत्याएनन्, फर्किए काठमाडौं ।

“सँगै गएका धेरै साथीहरु ब्रिटिस आर्मी भए । तर म पास हुन सकिनँ । अहिले कति साथी रिटायर भइसके कति सर्भिसमै छन्,” राजु भन्छन्, “पास भइनँ तर जिन्दगीको सपना नै सकियो भन्ने लागेन, किनकि म्युजिक पनि म सँगसँगै थियो । एउटा नयाँ अनुभव सङ्गाल्ने मौका मिल्यो भन्ने लाग्यो ।”
राजु गाउन थाले उसैगरी । सिन्धुपाल्चोक बरुवा सुनचौर थात थलो । मध्यमवर्गीय परिवार । पाँच वर्षको उमेरदेखि काठमाडौंमा दिदीकहाँ बसेर पढ्दै थिए ।

गितार बजाउने औधी रहर लाग्थ्यो । तर थिएन । गीत त गाउँथे । तर गितार बजाउन आउँदैन थियो । आओस पनि कसरी ? घरमा गितार थिएन । सिक्न कतै गएका थिएनन् । सामान्य गितारलाई पनि कम्तीमा ५–६ हजार पर्थ्यो । कसरी किन्नु ? साथीकहाँ थियो । पालो कुरेर त्यही बजाउँथे ।

कक्षा आठमा पढ्दा नै राजु र उनका साथीहरु देब गुरुङ र चन्द्र गुरुङले ‘मङ्गोलियन हार्ट’ नामक सांगीतिक ब्यान्ड खोले । तिहारमा देउसी खेल्न त्यो ब्यान्ड स्थापना गरिएको थियो । पछि बसन्त र राजकुमार पनि थपिए । ‘मङ्गोलियन हार्ट’मा पाँच जना भए ।

०५१ मा ‘सोल्टिनी’ नामक एल्बम निकाले । आठवटा गीतमा पाँचवटा राजुकै गीत थिए । ‘सायद तिम्रो बाटोमा’ पनि थियो । चन्द्र गुरुङको पनि गीत थियो ‘सोल्टिनी’मा । रहर धेरै थियो, उमेर कच्चा थियो । अनुभवको कमी थियो । परिणामः त्यो एल्बम त्यति धेरै राम्रो भएन ।

हङकङ पोखरा, धरानलगायत विभिन्न ठाउँमा ‘सोल्टिनी’को पुस सेल गरे । आएको केही पैसाले उनले गितार किने ।

० ० ०

०५१ सालमा एसएलसी दिएपछि गायनको दायरा फराकिलो हुँदै गयो । काठमाडौंमा टुबोर्ग, काल्सबर्ग म्युजिक कम्पिटिसन हुन्थे । ती प्रतियोगितामा ‘मङ्गोलियन हार्ट’ सहभागी हुन्थ्यो । उनलाई सम्झना छ, ती प्रतियोगिता काठमाडौंको भृकुटीमण्डपमा हुन्थ्यो ।

एसएलसीपछि पनि उनी गीत गाइरहेका थिए । तर मेरो पेसा नै गायन हो भन्ने राजुले सोचिसकेका थिएनन् ।

किन ?

जवाफ– गीतसंगीत अहिलेकोजस्तो पेसा बनिसकेको थिएन । गीत गाएर जिविकोपार्जन हुन्छ भन्ने सोच्न पनि सकिँदैन थियो । अन्य कामसँगै गीत पनि गाउँदै जाने भन्ने मात्रै थियो ।

जिविका चल्दैन भन्ने थाहा थियो । तर राजुको मनले त्यसलाई छोड्न मान्दैमानेन ।

त्यो बेला उनी ठमेलमा काम गर्थे । आफन्तको गेष्ट हाउस थियो । याद छ राजुलाई त्यो गेष्ट हाउसमा १८ वटा कोठा थिए । तीन जना स्टाफ थिए । उनैले म्यानेज गर्थे । तलब अढाई हजार थियो ।

गेष्ट हाउसमा काम गरेर बचाएको छ हजार रुपैयाँ थियो । त्यही निकाले । छ हजार दिदीसँग मागे । आठवटा गीत रेकर्ड गर्ने ३० हजार चाहिएको थियो । बाँकी साथीहरुले थपे र रेकर्ड भए आठवटा गीत ।

बर्सेनि देउसी भैलो खेल्थे । टोलटोलमा कन्सर्टहरु गर्थे । सान्तवना पुरस्कारहरु जित्थे । त्यसले आत्मबल भरिदिन्थ्यो ।

तर, जब देशव्यापी ‘सज्जन स्मृति पप सङ्’ प्रतियोगिता भयो । त्यसमा उनीहरुले बाजी मारे । अनि सुरु भयो ‘मङ्गालियन हार्ट’को जान–पहिचानसहितको यात्रा ।

म्युजिक नेपालका दिपेश प्रधानले भने, “हाम्रो कम्पनीले एउटा ब्यान्डलाई आफ्नै लगानीमा गीत रेकर्ड गर्ने अवसर दिँदैछ । तिमीहरुले पनि आवेदन हाल । छनोट भयो भने राम्रो हुन्छ ।”

दोबाटोमा पुगेर अल्मलिएको ‘मङ्गोलियन हार्ट’ लाई त्यसपछि सहज भयो । नभन्दै उनीहरु नै छनोट भए । ०५३ मा म्युजिक नेपालबाट उनीहरुले ‘मङ्गोलियन हार्ट’ भोलुम एक एल्बम निकाले ।

‘ओई नाना ओई नाना’ ‘मङ्गोलियन हार्ट’लाई आमरुपमा चिनाउने पहिलो गीत बन्यो । त्यसपछि उकालो लागेको ‘मङ्गोलियन हार्ट’को यात्रामा एकपछि अर्को गीत लोकप्रिय हुँदै गए । ‘ओई नाना ओई नाना’ आएकै वर्ष ‘उँभो उँभो खासामा’, ‘नतानु त तानु तानु लाग्ने’, ‘बादलपारीको देशबाट’, ‘पर्खाइमा’ त्यही वर्ष हिट भए ।
गीत लोकप्रिय भए । धेरैले चिन्न थाले । ‘मङ्गोलियन हार्ट’ राजु लामा भन्थे । तर उनमा सेलिब्रेटी पनको उन्माद देखिएन । “अहिलेको जस्तो भाइरल हुने भन्ने थिएन । गीत रेडियो टेलिभिजनबाट बज्थ्यो । मान्छेहरुले चिन्थे । तर मलाई म सेलिब्रेटी भएँ भन्ने कहिले पनि लागेन । तर खुसी चाहिँ लाग्थ्यो,” राजु विगत फर्किन्छन्, “दुई रुपैयाँ रोयल्टीमा काम गरेका थियौँ । १० हजार क्यासेट बिक्री भएपछि रोयल्टीमा २५ पैसा थपिन्थ्यो । छदेखि सात रुपैयाँसम्म पुगेको थियो ।”

० ० ०
पोखरा र धरानसँग राजुको पुरानो सम्झना गाँसिएको छ । नेपाल टेलिभिजनबाट ‘संगीत संगम’ नामक कार्यक्रम प्रसारण हुन्थ्यो । तत्कालीन पपुलर उक्त कार्यक्रममा जाने अवसर जुटाइदिएका थिए, अमृत गुरुङले ।

छ वटा गीत गाएका थिए राजु र उनका ब्यान्ड मेम्बरहरुले । कार्यक्रम प्रसारण भएपछि पोखराबाट छवटा र धरानबाट दुई जनाले एउटा गरी सातवटा चिठ्ठी आए । चिठ्ठीमा टेलिभिजनमा कार्यक्रम प्रसारण भइरहेकाबेला फोटो खिचेरसमेत पठाइएको थियो । त्यो नै फ्यान फलोइङ्को सुरुआत थियो ।

फ्यानको ठूलो समूहले घेरेको अवस्था पनि राजुको मानस्पटलमा अझै ताजै छ । हरेक वर्ष दसैंको पूर्वसन्ध्यामा काठमाडौंको चक्रपथमा कन्सर्ट हुन्थ्यो । ०५३ मा ‘मङ्गोलियन हार्ट’को पनि थियो । कार्यक्रम सकियो । स्टेजबाट राजु ओर्लिए । अरिङ्गालको गोलोले घेरैझैं दर्शकले उनलाई घेरे । “मलाई दर्शकको ठूलो समूहले घेरेको त्यो पहिलोपटक थियो । मलाई त के गरौं के गरौं भयो । मलाई मात्रै हो कि अरुलाई पनि भनेर यसो हेर्दा मेरो साथीहरु पनि त्यसरी नै घेरिएका थिए । पहिलो एल्बम निस्किनुभन्दा केही समय पहिलाको कुरा थियो यो ।” दर्शकको मायाले छोपिँदाको पहिलो अनुभव सुनाउँछन् राजु ।

पहिलो एल्बम पाँच लाख क्यासेट बिक्री भएको सम्झना छ उनलाई । त्यही पैसाले उनीहरुले गितार, ड्रमलगायत ब्यान्डका लागि आवश्यक सामग्री किने । च्यारिटी शोहरु गरे । सफलताको स्वाद चाखे ।

रहरैरहरमा छिरेका राजुले संगीतलाई कहिले पेसाकै रुपमा आत्मसात गरे त्यो त उनलाई पनि थाहा छैन । तर यति भन्न सक्छन्, “रहरमा गाउन थालियो । राम्रो हुँदै गयो । त्यसैले प्रोफेसनमा परिणत हुँदै गयो । गीत नै गाएर खान्छु भन्ने थिएन । हाम्रो पालामा म्युजिक गर्छुभन्दा राम्रो पनि मानिँदैन थियो । तर मेरो परिवारले कहिल्यै पनि किन म्युजिकमा लागिस् भनेर प्रश्न गरेन । सधैँ सपोर्ट नै गर्‍यो ।”

० ० ०

‘बादलुमा लुकी बस्ने’बाट गायन यात्रा सुरु गरेका राजुले एक सय ५० भन्दा धेरै गीतमा उनले स्वर भरिसकेका छन् । तामाङ भाषामा तीन दर्जन गीत गाएका राजुले टिबेटियन भाषामा नौवटा गीत गाएका छन् ।

० ० ०
०६२ मा सांगीतिक कार्यक्रम लिएर ‘मङ्गोलियन हार्ट’ अमेरिका पुग्यो । कार्यक्रम सम्पन्न भयो । दर्शकले वाही वाही गरे ।

तर विडम्बना ! उनका तीनजना ब्यान्ड मेम्बर उतै हराए । ब्यान्ड मेम्बरका हैसियतले बिनाअनुमति अमेरिका बसेका साथीहरुलाई फर्काउनु उनको पनि नैतिक जिम्मेवारी थियो । उनी पुनः गए अमेरिका । “साथीहरुलाई फर्काउने कोशिसमा करिब डेढ वर्ष बित्यो मेरो । मेरा साथीहरु भागे तर आरोप मेरो टाउकोमा आयो । राजु पनि उतै बस्यो भन्ने आरोप मैले खेप्नुपर्‍यो ।

त्यसपछि उनले लेखे,
हल्ला चलेछ राजै चर्चा चलेछ मै विदेश जाँदा
विदेशैमा बसेछ भनेर उतै तिर घरजम भो भनेर
हल्लै हल्लाको संसार आउँदैछु म मया नमार
कसरी म भुल्छु नी लैलै तिम्रो त्यो मायालाई
रोधी घरमा गाएको लैलै लैबरी भाकालाई
हो दैब साँची छ माया मेरो साँच्चै चोखो छ

टाउकोमा आरोपको बोझ थियो । त्यही बोझले मन भावुक भएको थियो । मनको भावनालाई उनले कपीमा कोरे । जन्मियो– हल्ला चलेछ राजै चर्चा चलेछ मै विदेश जाँदा… ।

अमेरिकामै रेकर्ड गराए । केही स्टेज कार्यक्रममा त्यो गीत गाए पनि । तर उनी आफैंलाई खासै चित्त बुझेको थिएन । नेपाल आएर फेरि रेकर्ड गराए । त्यसपछि सार्वजनिक भएको गीत दर्शकको जिब्रोमा झुन्डियो ।

इमेल इन्टरनेटको जन्म भयो । संसार सानो गाउँमा परिणत भयो । प्रविधिले भौगोलिक दूरी हटाइदियो । नेपाल होस् या अमेरिका । जता बसे पनि आफूले चाहेको काम सहजै गर्न सकिने अवस्था आयो । त्यसको फाइदा राजुले पनि लिए । उनी आधा अमेरिका आधा नेपाल बस्न थाले । “अमेरिका हुँदा पनि म केही काम गर्दिन । गीत नै गाउने हो । गीत गाएरै मलाई पुगिरहेको छ,” राजु भन्छन्, “२६ वर्ष लामो यो सांगीतिक यात्रामा मैले कहिले ब्रेक लिएको छैन । मेरा गीत नियमित रुपमा आइरहेको छ ।”

० ० ०

गीत संगीत सिर्जना हो । सिर्जना कसरी कतिबेला जन्मिन्छ त्यो कसैलाई थाहा हुँदैन । राजु पनि अपवाद हैनन् । गितार लिएर बसिरहेका बेला जन्मिन्छन् उनका अधिकांश गीत । कहिले एकै बसाइमा त कहिले वर्षौंमा ।

राजुले सुनाए, ‘पखाईमा’को कथा । गीतको स्थायी आयो । केही अन्तरालमा अन्तरा पनि फुर्‍यो । तर त्यसपछिको अन्तरा भाग आउँदै आएन ।

चार वर्ष भएको थियो । स्थायी र एउटा अन्तरा उनलाई राम्रो लागेको थियो । बाँकी छैन । गर्ने के ?

म्युजिक नेपालको स्टुडियो पुगेर उनी लेख्न बसे । नभन्दै सरर आयो । गीत पूर्ण भयो । रेकर्ड गरे ।

“कहाँ कसरी आउँछ कम्पोज र लिरिक्स थाहै हुँदैन,” राजु भन्छन्, “कहिले काहिँ आज गीत बनाउँछु भनेर पनि बस्छु । तर स्वतन्त्ररुपमा आएको गीत अलि बढी राम्रो हुन्छ की !”
गीत लेख्ने उनको सूत्र पनि छ ।

कस्तो ?

जवाफमा – तपाईं र मैले प्रत्येक दिनको जीवनमा के भोग्छौं । त्यो मेरो गीतमा आउनुपर्छ भन्ने सोचेर गीत लेख्न र कम्पोज गर्न बस्छु । ठेट नेपाली गीत हुनुपर्छ । हाम्रैपन आउनुपर्छ भन्ने सोच्छुु ।

० ० ०

मार्चको एक दिन सुशील नेपालले राजुलाई फोन गरेर भने, “काम छ यार भेटौं न ।”

पहिलादेखि कै साथी सुशीलसँग राजुको पछिल्लो भेट ०६४ बाट भएको थिएन । उनलाई पनि भेट्ने मन थियो । तर डेढ महिना लाग्यो ।

भेटमा सुशीलले भने, “भ्वाइस अफ नेपाल’को कोच बन्दिनु पर्‍यो ।”

अनपेक्षित प्रस्ताव थियो । राजुले भने, “होइन म सक्तिनँ होला ।”

सुशीलले सक्छौ भने । २६ वर्ष लामो अनुभव सेयर गर्ने त हो भने ।

राजुले डिसिजन गरेर पछि भनौंला भने ।

तेस्रोपटकको मिटिङमा पनि तिमीले सक्छौ भने । राजुको मनमा आयो, ‘सक्छु होला र त मलाई भनिरहेका छन् ।’
हुन्छ, भन्दिए ।

दीप श्रेष्ठसँग पहिला नै चिनजान थियो । आस्थासँग तीन वर्ष अगाडि भेट भएको थियो । बाँकी रहे प्रमोद खरेल । प्रमोदसँग देखादेख त १० वर्ष अगाडि कोरियामा भएको थियो तर एकअर्कामा जानपहिचान थिएन । कस्तो, के भन्ने मनमा शंका थियो । तर, जब भेटे भ्वाइसमा कति सहह्रिदयी प्रमोद । राजु भन्छन्, “भ्वाइसले एउटा राम्रो मित्र भेटाइदियो ।”

दीप श्रेष्ठले भने, “ल केटा आएछस्, बधाई छ । सबैले राम्रो गरौँ ।”

बोल्दा खासै भाँती पुगेजस्तो नलाग्ने, राजु स्वयम्लाई भने अफ्ठयारो लागिरहेको थियो ।

‘ब्लाइन्ड राउन्ड’ सुटिङ भयो । प्रशारण हुन केही समय लाग्यो । भ्वाइसको पहिलो शृङ्खला प्रशारण हुँदा उनी अमेरिकाबाट नेपाल फर्किँदै थिए । युट्युबमा त्यहीँ हेर्न थाले । दर्शकले के भन्ने हुन्, कस्तो ठान्ने हुन् ? मनमा कौतुलसहितको मुटुको बेग बढेको थियो । प्रतिक्रियाहरु आउन थाले । एकपछि अर्को सकारात्मक प्रतिक्रियाले मुटुको बढ्दो बेगलाई पहिलाकै अवस्थामा फर्कायो ।

भन्छन्, “अहिले पनि मलाई हरेक शृङ्खला कस्तो हुने हो भन्ने डर लाग्छ ।”
१२ खरी वाट साभार

थप समाचारहरु

Latest News