यार्सागुम्बा कहर : १४ दिनमा ८ जनाले गुमाए ज्यान, अधुरै रहे सन्तानका रहर
June 8, 2019 | Gyanlama | 1:22 am

जाजरकोट । धन कमाउने आशा भनाैँ या दैनिक हातमुख जाेर्ने र सन्तानका रहर पूरा गर्ने विवशता, यार्सागुम्बा संकलन गर्न जानेहरुका आफ्नैखाले कहर छन् । उच्च जोखिममा माेलेर उच्च हिमाली भेगमा रातदिन बिताउनुपर्दा ज्यानै जान थालेकाे छ ।

डोल्पाका विभिन्न पाटनमा यार्सा संकलन गर्न गएका ८ जनाले ज्यान गुमाइसकेका छन् । दुई सातामै आठ यार्सा सङ्कलकको मृत्यु भएको पुष्ट भएकाे हाे । उनीहरुका सन्तानका अावश्यकता पूरा गर्ने रहर पनि अधुरै रहे ।

यतिबेला डोल्पाका ७० भन्दा बढी पाटनमा यार्सा सङ्कलकहरु रहेका छन् । जाजरकोट, रुकुम, जुम्ला र डोल्पाका ८ जना कोहीले लेक लागेर त कोहीले लडेर ज्यान गुमाएका हुन् । यार्सा सङ्कलनका लागि जाँदै गर्दा जुम्लाको पतारासी गाउँपालिका–६ का १७ वर्षीय गोपाल विष्टको लेक लागेर मृत्यु भएको छ भने जुम्ला गोठीचौर गाउँपालिका–४ का ४४ वर्षीय जयकृष्ण पाण्डेले लडेर ज्यान गुमाएका छन् ।

त्यस्तै डोल्पा ठूलीभेरी नगरपालिका–११ की ३८ वर्षीया बुद्धीकुमारी कार्की, जाजरकोट बारेकोट गाउँपालिका–६ का २२ वर्षीय रमेश चलाउने, बारेकोट गाउँपालिका-१ का १८ वर्षीय कृष्ण विकको पनि यार्सा संकलन गर्न जाँदा मृत्यु भएको छ ।

रुकुमपश्चिम आठबिसकोट नगरपालिका–९ का ३९ वर्षीय कृष्णबहादुर शाहीको लेक लागेर, डोल्पा ठूलीभेरी नगरपालिका–५ की ४० वर्षीया धनकला बुढा र काइके गाउँपालिकाको व्यासरिखीमा कान्छी विकको नवजात शिशुको चिसोका कारण मृत्यु भएको छ ।

सदरमुकाम दुनैभन्दा कयौँ टाढा रहेका उच्च हिमालमा यार्सा सङ्कलन हुने र त्यहाँ फोनको पहुँच नहुँदा के–कति बिरामी छन् भनेर समेत थाहा नहुने प्रहरीले जनाएको छ ।

थप समाचारहरु

Latest News

shares