तेस्रो तामाङ चलचित्र महोत्सवमा देखाइने ५ तामाङ चलचित्र कुन चलचित्र कस्तो (भिडियो सहित)
March 30, 2019 | Gyanlama | 12:15 am


काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुण्डेबेसीमा यही चैत २९ गतेदेखि बैशाख १ गतेसम्म हुने तेस्रो तामाङ चलचित्र महोत्सवमा देखाईने ५ तामाङ भाषाका चलचित्रहरु छनौट गरिएका छन् । छनौट भएका चलचित्रहरुमा श्होङ, सेमरिन मुला माया, आप्लेङला नाम्सा, रुङ्सी टिला र सेर्कु रहेका छन् ।

१) सेमरिन मुला माया– तामाङ सँस्कारमा स्वाँगेभाई हुने परम्परामा आधारित चलचित्र सेमरिन मुला माया चर्चित तामाङ चलचित्रहरुमध्येको एक हो । सेमरिन मुला मायालाई चैत २९ गते दिउँसो साढे १२ बजे महोत्सवस्थलमा प्रदर्शन गरिने छ । चलचित्रलाई यस अघि सर्लाहीमा प्रिमियर शो पश्चात काठमाडौँ उपत्यकाका विभिन्न हलहरुमा प्रदर्शन गरिएको थियो । विभिन्न शो सँगै माउथ पब्लिसिटीका कारण चलचित्रले थप चर्चा पाएको छ । नायक सविन श्रेष्ठको समेत विशेष भूमिका रहेको चलचित्रमा हुत्त सञ्जय लामा, खुशी घिसिङ, संगीता दोङ, भिम तामाङ, राजु झक्कास वाईबा, कमल लोप्चन, कमल योञ्जन लगायतको अभिनय रहेको छ । साथै बाल कलाकार निमा दोङ, रुचिका गोले र निक्की दोङको समेत अभिनय चलचित्रमा छ ।
राजु दोङको दमदार द्वन्द समेटिएको चलचित्रलाई रामेश्वर जिरेलले खिचेका हुन् । मुस्ताङ, नुवाकोट, काठमाडौ लगायत विभिन्न पर्यटकीय स्थलहरुमा छायाँकन गरिएको चलचित्रलाई सम्झना तामाङ र लोसाङ लामा (ईसान) ले निर्माण गरेको चलचित्रलाई सञ्जय र अर्जुनले निर्देशन गरेका हुन् । सञ्जयकै कथामा बनेको चलचित्रका गीतहरुमा अजय स्याङ्तान र दिपक तामाङको कोरियोग्राफी रहेको छ । त्यस्तै प्रयास दोङ र सञ्जयको संगीतमा प्रयास दोङ, जितु लोप्चन, निमा दोङ र अमृत लामाले आवाज दिएका छन् । गीतका शब्दहरु सम्झना लामा र कुमार स्याङ्बाले लेखेका छन् । ‘सेमरीन मुला माया’ को ट्रेलर, ‘दुःखै दुःखला ल्हुई ङाला’ बोलको वियोगान्त गीत, ‘घ्याल्मो दोसी मिरी छ्याजी’ र ‘तामाङको ल्होछार महान चाड’ बोलको गीत समेत चर्चामा छ ।

२) श्होङ- तामाङ कथानक चलचित्र ‘श्होङ’ तामाङ समुदायको ल्हाप्साङकार्पो क्षेत्रको तामाङ भाषा, सँस्कृति र लोक जीवनशैलीमा आधारित छ । चलचित्रलाई चैत्र ३० गते बिहान ९ बजे महोत्सवस्थलमा प्रर्दशन गरिने छ ।
चलचत्रिमा एन्जिला वाईबा, मर्नेन तामाङ, कान्छा लामा, रुपा एस घले, आरम्भ तामाङ, सिंगबहादुर तामाङ, गोम्बो घले, बिकल लामा, ए.आर तामाङ, वाङ्जु वाईबा, कुशल थिङ, संगम ज्याक्सन, फुर्बा तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । रोशन फ्युबा तामाङको निर्देशन तथा सिंगबहादुर तामाङको कथा र संवाद रहेको चलचित्रलाई प्रेम तामाङ र अनमोल तामाङले निर्माण गरेका हुन् । प्रकाश तामाङको छायाँकन हेर्न सकिने चलचित्रमा पेमा टाशीले ड्रोन चलाएका छन् । चलचित्रलाई नुवाकोटको किस्पाङ गाउँपालिकाको साल्मे तथा भल्छे क्षेत्रमा छायाँकन गरिएको बताइएको छ ।
सिंगबहादुर तामाङकै कोरियोग्राफी रहेको चलचित्रलाई रोशन फ्युबाले सम्पादन गरेका हुन् । चलचित्रको पोष्ट प्रोडक्सनको जिम्मा ल्हाप्साङकार्पो म्यूजिकले लिएको छ । चलचित्रका गीतहरुमा निर्मला घिसिङ, जितु लोप्चन, मनोज लोप्चन, मनमाया वाईबा र सुरेश लामाको अवाज सुन्न सकिन्छ । सिंगबहादुर तामाङ र जमुना तामाङको शब्द रहेको गीतहरुलाई रोशन फ्युबाले संगीत दिएका छन् । चलचित्रका गीतलाई रिकेश गुरुङ, पवन वाङ र जोगलाल लामाले एरेञ्ज गरेका हुन् । यस अघि नै तामाङ कथानक चलचित्र ‘श्होङ’ को ट्रेलर सार्वजनिक भइसकेको छ । चलचित्रको ट्रेलरमा द्वन्द र प्रेमलाई समावेश गरिएको छ । कथा र संवादका साथै ट्रेलरमा समावेश गीतहरु समेत चर्चामा रहेका कारण चलचित्रले सफलता पाउने निश्चित भएको निर्माण पक्षको दाबी छ । ल्हाप्साङकार्पो म्यूजिकको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको ४ मिनेट ६ सेकेण्ड लामो ट्रेलरमा अधिकांश मुख्य कलाकारहरुको अभिनय समेटिएको छ । चलचित्रका चर्चित गीतहरुलाई समेत ट्रेलरमा स्थान दिइएको छ । तामाङ पत्रकारितामा ‘कुकुर कविता’ शिर्षकमा व्यङ्ग्य कविता लेखेर चर्चामा आएका नव कलाकार तथा साहित्यकार वाङ्जु वाईबाको अभिनय पनि ट्रेलरबाटै देख्न सकिन्छ । यस अघि नै चलचित्रको टिजरलाई डिसेम्बर २३ तारिखमा युट्युब मार्फत सार्वजनिक गरिएको थियो । नायिका एन्जिला वाईबाको जन्मदिनको अवसर पारेर चलचित्र युनिटले श्होङको पहिलो गीत समेत सार्वजनिक गरिसकेको छ । ‘ङ्याङ्ला माया’ बोलको उक्त गीतमा चर्चित गायिका जितु लोप्चन र गायक मनोज लोप्चनको आवाज सुन्न सकिन्छ । गीतमा सिंगबहादुर तामाङ र एन्जिला वाईबालाई फिचरिङ गरिएको छ ।

३) सेर्कु–तामाङ कथानक चलचित्र ‘सेर्कु’लाई बैशाख १ गते शनिबार बिहान १० बजे प्रदर्शन गरिने भएको छ । चलचित्रमा चाँदनी मोक्तान, ऋतुराज पाख्रिन, सुष्मा मोक्तान, सुष्मा थिङ, विकास स्याङ्तान, उर्मिला वाईबा, श्यामलाल योञ्जन, बैरागी मोक्तान, मुस्कान तामाङ, योगेश मोक्तान, किरण तामाङ, गोपीराम तामाङ र निमादावा रुम्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चर्चित नायिका चाँदनी मोक्तान लामो समयपछि चलचित्र क्षेत्रमा यसै चलचित्रमार्फत कमब्याक गरेकी हुन् ।
राजकुमार मोक्तानको निर्देशनमा तयार भएको चलचित्रमा ऋतुराज पाख्रिनको कथा, पटकथा रहेको छ । रोशन फ्युबा तामाङको कोरियोग्राफी रहेको चलचित्रलाई राजकुमार मोक्तान र सिदार्थ मोक्तानले निर्माण गरेका हुन् । चलचित्रमा पवन वाङको ब्याकग्राउण्ड स्कोर रहेको छ । चलचित्रका गीतहरु जीवन बोम्जन र राजकुमार मोक्तानले लेखेका हुन् । गीतमा आर.बी. लामा सिङ्दान र राजकुमार मोक्तानको संगीत रहेको छ भने अमृत लामा, जितु लोप्चन र आर.बी. लामा सिङ्दानले गीतमा आवाज दिएका छन् ।

४) रुङ्सी टिला–ह्याङ्ला मकवापनुर फिल्म्स प्रालिको प्रस्तुति तामाङ कथानक चलचित्र ‘रुङ्सी टिला’ लाई चैत ३० गते शुक्रबार बिहान ११ बजे प्रदर्शन गरिने भएको छ । तामाङ चलचित्रका क्षेत्रमा एक दशकभन्दा बढी समय चर्चामा रही कार्य गरेका मकवानपुरका चर्चित कलाकार एवम् निर्देशक बाबु थिङको निर्देशनमा चलचित्र निर्माण गरिएको हो । निर्देशक थिङले चलचित्रमा पारिवारिक कथा रहेको बताएका छन् । चलचित्रमा सौतेनी आमाको सम्बन्ध र पर्खाईमा रहेको प्रेमीको कथा समेत रहेको बताइएको छ ।
हेटौँडाका युवा व्यवसायी तथा समाजसेवी सानु लामाले यसै चलचित्रमार्फत नायकका रुपमा डेब्यू गरेका छन् । उनले एक समाज सुधारको बाटोमा लाग्न प्रेरित गर्ने शिक्षकको भूमिका निभाएको बताइएको छ । चलचित्रमा मकवानपुरको चर्चित पर्यटकीय स्थलहरु मकवानपुरगढी, पुष्पलाल स्मृति पार्क लगायतका स्थानमा छायांकन गरिएको चलचित्रमा मकवानपुरकै कलाकारहरुको वर्चश्व रहेको छ । चलचित्रमा मकवानपुरका नायक सानु लामा, विक्रम लुङ्वा, सुष्मा थिङ, काभ्रेकी सुनिता लुङ्वा, राजु नेगी, राधिका स्याङ्तान लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रको कथा ऋतुराज पाख्रिनले लेखेका हुन् । बाबु थिङ र विक्रम लुङ्वाको कोरियोग्राफी रहेको चलचित्रमा राजु किराँतको द्वन्द रहेको छ । चलचित्रका गीतहरुमा देवलाल मोक्तान र सुशिल मोक्तानले संगीत दिएका छन् । चलचित्रलाई राधिका स्याङ्तानले निर्माण गरेका हुन् ।
५) आप्लेङला नाम्सा–तामाङ कथानक चलचित्र ‘आप्लेङला नाम्सा’ (मितबाको गाउँ) तामाङ परम्परा र रितिथितीमा आधारित छ ।
चलचित्रलाई चैत २९ गते दिउँसो ३ बजे महोत्सवस्थलमा प्रदर्शन गरिने छ । परम्परातर्फको यात्राका रुपमा ब्याख्या गरिएको चलचित्रलाई अजय स्याङ्तानले निर्देशन गरेका हुन् । छेम्बेल ह्योल्मोको निर्माणमा बनेको चलचित्रको कथा लेखन दोर्जे तामाङले गरेका छन् । चन्द्र कुमार दोङको संगितमा तयार भएका गीतहरुमा शशिकला मोक्तान, निर्मला घिसिङ, मिन कुमार दोङ र चन्द्रकुमार दोङको आवाज सुन्न सकिन्छ । राजु किराँतीको द्वन्द निर्देशन रहेको चलचित्रमा चक्र महर्जनको छायाँकन रहेको छ ।
चलचित्रको चु नाम्सा, मायाला धिमनाम सोगे, ताम्बासे ताम्सुर आरब्साम लगायतका गीतहरु चर्चामा छन् । चलचित्रमा प्रेम तामाङ, छेम्बेल ह्याल्मो, बुईसाल लामा, कान्छीमाया ह्योल्मो, बद्रि थिङ, सञ्जु केसी, प्रेम ग्याल्बो ह्योल्मो लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

‘हाम्रो कला हाम्रो पन, तामाङ चलचित्र हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ हुने तेस्रो तामाङ महोत्सवमा २०७० सालपछि निर्माण भएका ५ वटा तामाङ चलचित्रहरु प्रदर्शन गरिने छ । प्रदर्शन गरिने ५ चलचित्रमध्ये उत्कृष्ट एक चलचित्रलाई नगद सहित सम्मान गरिने समेत बताइएको छ । त्यस्तै तामाङ चलचित्रका विभिन्न विधाहरुमा विशेष योगदान दिएका व्यक्तीहरुलाई समेत महोत्सवका समयमा सम्मान गरिने आयोजकले जनाएको छ ।

यसका साथै महोत्सवमा तामाङ चलचित्रकर्मीहरुले दैनिक रुपमा प्रस्तुति समेत दिनेछन् । ख्याती प्राप्त गायक गायिकाहरुले समेत प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ भने तामाङ समुदायका झाँकी, बोन्बो, लामा र तान्बाहरुको पनि विशेष प्रस्तुति रहने बताइएको छ । महोत्सवमा तामाङ मौलिक खाना, तामाङ गोईलो, डम्फु र बुद्धचित्त मालाहरुको स्टल समेत रहने बताइएको छ । पहिलो तामाङ चलचित्र महोत्सव मकावनपुर को हेटैडामा २०६७ साल पुस १/२/३ गते भएको हो त्यस बेला तामाङ चलचित्र संघमा प्रकाश ब्लोन अध्यक्ष रहेको थियो र त्यस पश्च्यात दोस्रो तामाङ चलचित्र महोत्सव २०६८ साल मा जेनिश दोङको अध्यक्ष रहेकै बेला मकवानपुरको हेटौडा पल्पसा हल मा भएको थियो ।
News copy By- Chandra Ghalan-murchungatv.com
भिडियो हेर्नुहोस;

थप समाचारहरु

Latest News

shares