मैले देखेको सेर्कु
September 16, 2018 | Gyanlama | 4:32 pm

सिङ्ग मोक्तान तामाङ
तामाङ‌ चलचित्र सेर्कु हिजो भर्खरै हेर्ने मौका मिल्यो।चलचित्र धेरै हिसावले राम्रो बनेको देखिन्छ।चलचित्रमा मलाई सबैभन्दा राम्रो लागेको कुरा चाहिँ तामाङ समुदायभित्र रहेको साँस्कृतिक र भाषिक बहुलतालाई पस्किन सक्नु हो।तेमालको भाषा मात्र शुद्व तामाङ भाषा हो तेमालको सँस्कृति मात्रै तामाङ‌को शुद्व सँस्कृति हो भन्ने एकखालको मनोविज्ञान तामाङ समुदायमा व्याप्त छ।एकाथरी बिद्वान भनिनेहरु तथाकथित मानकिकरणको नाममा तामाङ‌ समुदाय भित्र रहेको भाषिक बहुलतालाई मार्न अग्रसर देखिन्छ।यो चिन्तन पश्चिमी सोच र चिन्तनसँग मिल्छ पश्चिमीहरु एकमा एकता खोज्छन अथवा एक चिन्तनलाई अरुमा लाद्नुमा नै एकता देख्छन्।तर अहिले विश्वमै नयाँ चिन्तनको धार विकल्पको रुपमा आएको देखिन्छ जहाँ बहुलतामा वा विविधतमा एकता देख्छन वा खोज्छन।एक कुरा अरुमाथि जवर्जस्ती लाद्दैमा एकता हुने होईनकि बरु त्यहाँ भित्र रहेको विविध वा बहुल पक्षलाई स्वीकार गर्दा नै वास्ताविक एकता हुने हो।यो चिन्तनधाराको मुख्य सार नै यहीँ हो।तर हामी भने पुरानो पश्चिमी धार बोकेर कुदीरहेका छौ र आफूले बोलेको भाषा र सँस्कृतिलाई नै शुद्व मानेर बाकीँ अरु समुदायमाथि जवर्जस्ती लाद्न खोजिरहेको छौं।वास्तवमा यसले तामाङ‌ समुदायमा फुट ल्याउँने काम गर्छ।हामी जुटाउँने काम भन्दा फुटाउँने काम वा कुरा ज्यादा गरिरहेका छौँ।यस्तोमा सेर्कुले तेमाल भन्दा बाहिर र तथाकथित भाषा बिद्वानहरुको मानकिकरणमा नपर्ने भाषा पनि तामाङ भाषा नै हो भन्ने सन्देश दिन खोजिएको छ।

फिल्ममा मूर्तिलाई नै सेर्कु भनिएको छ भने त्यसैबाट नायकको नाम पनि सेर्कु राखिएको देखिन्छ जहाँ हामी कहाँ रहेको अमूल्य मुर्तिहरू पैसाको लोभमा बेचेको घटनालाई देखाउँन खोजिएको देखिन्छ तर त्यत्ति मात्र होईन कि सेर्कु जस्तो ईमान्दार व्यक्तिले पनि आफ्नो दुई बहिनीहरुको उपाचारको लागि पैसाको अभावमा मूर्ति बेच्न बाध्य भएको कुरा समाजमा भएको वा देखिएको यथार्थ घटना हो।पैसाको लोभमा अमूल्य साँस्कृतिक सम्पदाहरु बेच्ने पात्रहरु हामीले समाजमा प्रशस्त रुपमा देख्न सक्छौ तर सबैजना पैसाकै लोभमा देशकै वा समाजकै अमूल्य सम्पति बेच्नेहरु मात्र छन् भन्ने कुरा सत्य होईन भन्ने कुरा फिल्मले देखाउँन खोजिएको देखिन्छ।तर अर्को रुपमा मूर्ति बेच्ने काम राम्रो होईन भन्ने कुरा पनि घुमाउँरो हिसावले फिल्ममा देखाउँन खोजिएको देखिन्छ।

सेर्कु (नायक)को आमाले मूर्ति बेच्न खोज्नु एकाएक त्यो मूर्ति राखेकै ठाउँबाट हराउँनु तर सेर्कु (नायक)आफैँले लुकाउँनु, (जुन कुरा भने चाहिँ अलि सस्पेन्समा राखिएको छ) गाउँलेले जब मूर्ति सेर्कु(नायक)को आमा बुबाले भेट्टाएको भन्ने थाहा पाउँछ तब उक्त कुरा गाउँलेलाई नभनी लुकाईएको भनेर सेर्कुको आमाबुबालाई गाउँलेले सजाय दिन्छ त्यहीँ बेला सेर्कुको आमाबुबाको भीरबाट लडेर मृत्यु हुनपुग्छ तर त्यो बेला नै सेर्कुले मैले मूर्ति लुकाएर राखेको छ भनेर किन भन्न सकेन?यदि सेर्कुले उक्त कुरा भनेको भए सायद उनले आफ्नो आमाबुबा गुमाउँनु पर्ने थिएनन कि?यो प्रश्न गम्भीर रुपमा तेर्सिन्छ।यसमा लेखक अलिकति चुके जस्तो पनि देखिन्छ तर ठ्याक्कै त्यस्तो आरोप लगाईँहाल्न पनि मिल्ने चाहिँ देखिदैँन। त्यसो भैदिएको भए फेरि कथाले अर्के मोड पनि लिन सक्थ्यो ।जस्तै आफ्नै बहिनीहरु नभए पनि आफ्नै बहिनीहरुलाई
भन्दा बढी माया गर्ने लनी र धिनीलाई सेर्कुले भेट्ने थिएनन कि ?भेटेपनि बहिनी बनाउँदैनथ्यो कि ?सेर्कु अरुको घरमा काम गर्न जानु पर्देनथ्यो कि ?सेर्कु आफैँ स्कुल जान पाउँथ्यो कि? अनि ग्याल्मोको चिठ्ठी सेर्कु आफैँले पढ्न सक्थ्यो कि?अनि सेर्कुले अरुको छोरी माग्न जाँदा त्यत्ति ठूलो अपमान भोग्नुपर्देनथ्यो कि?यस्तो भएको भए फिल्म कस्तो बन्थ्यो वा देखिन्थ्यो होला?यसबारेमा काफी रुपमा सोच्न सक्छौं ।अथवा मूर्ति लुकाईएकोमा दु:ख भोग्नुपरेको घटनालाई देखाउँन खोजिएको हो कि?तर कम्तीमा उनले आफ्नो आमाबुबा त गुमाउँपर्देनथ्यो नि?हुन त फिल्मको कथालाई जता पनि बगाउँन सकिन्छ।यसबारेमा छलफल बहस हुदैँ गर्लान यस बिषयलाई यहीँ थाती राखौँ।

लनी र धिनीको अभिनय तरिफ योग्य रहेको छ।लनी र धिनीको सु:ख दु:खको साथी बनेर सेर्कुले खेलेको भूमिका र लनी र धिनीले बारम्बार आफूहरुको कारण दाई(सेर्कु)ले दु:ख पाएको कुरा ब्यक्त गरिरहनुले दाई (सेर्कु)को बहिनीप्रतिको माया र बहिनीहरु(लनी र धिनी)को दाई(सेर्कु)प्रतिको सच्चा मायाभाव देखाउँछ।तर हाम्रो समाजमा अहिले पनि शारीरिक रूपमा अपाङगहरुलाई हेयको दृष्टिले हेर्ने गरिन्छ र शरीरिक रुपमा अपाङगहरु मानसिक रूपमा पनि अपाङग नै हुन्छ भन्ने सोचिन्छ यस्तोमा सेर्कुले दाजुको रूपमा खेलेको भूमिका उत्प्रेरणामूलक रहेको छ।लनी र धिनी स्कुलमा जादाँ भाषाकै कारण भोग्नुुपरेको समस्यालाई अत्यन्तै चोटिलो ढङ्गले देखाईएको छ।यो अत्यन्तै वास्ताविक कुरा पनि हो।आफ्नो घरमा सिकेको भाषा एउटा र स्कुलमा पढ्नुपर्ने भाषा अर्को भएपछि आफ्नो समस्या शिक्षक सामु भन्न नसक्ने,सोध्नुपर्ने प्रश्न सोध्न नसक्ने समस्याहरु उब्जिन्छ जस्ले धेरै तामाङहरु शिक्षाबाट‌‌ बन्चित हुन बाध्य छन्।यो पक्षले पनि फिल्मलाई बलियो बनाएको छ।

मलाई मन परेको अर्को पक्ष‌ भनेको जब सेर्कु (नायक) आर्थिक रुपले सम्पन्न हुदैँन तबसम्म जत्ति केटी माग्न गएपनि पनि सेर्कुलाई पत्याउँदैनन्।मैलो लुगा लगाएकै कारण सेर्कु आफ्नो जीवनसाथी पाउँनबाट बन्चित हुनुपर्छ यो त झन अहिलेको पुजीँवादी जामनामा व्याप्त समस्या हो।सबैले पैसा भएकै ज्वाईँ खोज्छन।लगाएको लुगाकै आधारमा अरुको मुल्याङकन गर्छन हो समाजको यहीँ खराब पक्षलाई फिल्ममा उतार्न सक्नुले नै फिल्मलाई झनै बलियो बनाएको छ।तर अन्त्यमा ग्याल्मोलाई पाउँनको लागि सेर्कुले राम्रो लुगा नै लगाउँनुपरेको दृश्यले भने मलाई अलिकति दु:खित बनायो।कताकता सेर्कुले आफ्नो धारबाट आत्मसमर्पण गर्नुपरेको जस्तो हुनपुगेको छ।के सेर्कुले ग्याल्मोलाई पाउँन राम्रो लुगा नै लाउँनुपर्ने हो त?नलगाए ग्याल्मोलाई पाउँन सम्भव थिएन त ?के सेेर्कुले ग्याल्मोलाई गरेको माया सच्चा थिएन?के सेर्कुले आफ्नो बुरिङ अर्थात् चेली लनी र धिनीलाई हरेक परिस्थितिमा साथ दिने उनको कदम गलत थियो त?अवश्य थिएन।त्यसैले आत्मसमर्पण त ग्याल्मोको दाजुले गर्नुुपथ्यो राम्रो लुगा नलगाए पनि ज्वाँईको रुपमा सेर्कुलाई स्वीकार्नुपर्थ्यो।सेर्कु(नायक)को कमजोरी भनेको नै उ गरिब थियो अरु उसको कुनै पनि खालको खोट थिएन।पैसा नभएकै आधारमा कसैलाई गरिब देख्नु त झन पुजीँवादी दृष्टिकोणबाट ग्रसित मान्छेले देख्ने कुरा हो।त्यसैले सेर्कु(नायक)को पहिलाकै भूमिकामा सेर्कुलाई उसको दाजुले ज्वाईँको रुपमा स्वीकारेको कुरा फिल्ममा देखाउँन सकिएको भए फिल्मलाई अझ बलियो बनाउँथ्यो।

खलनायकको रुपमा विकास स्याङतनले आफ्नो भूमिका मज्जैले निभाएका छन्।फिल्मको फाईटहरु लोभलाग्दो छ किनकि छुनेबित्तिकै उड्नेखालको अपत्यारिलो फाईट यसमा छैनन।नायक र नायिकालाई आफ्नै ड्रेसमा उतारिएको छ यो पनि राम्रै हो।चादँनी मोक्तानको भुमिकाले अग्रज कलाकारले नयाँ कलाकारहरु डोर्याईरहेको महाशुस हुन्छ यो अत्यन्तै तरिफयोग्य काम हो।मेरो मित्र मुस्कान तामाङको अभिनय पनि राम्रै लाग्यो।फिल्ममा खाशै फितलो लाग्ने पक्ष‌ मैले खाशै देखिँन।मैले देखेँन भन्दैमा कमजोरी छदैँ छैन भन्ने पनि होईन कमजोरी पक्ष पनि होलान तर यस बारेमा देख्ने अरु साथीहरुले लेख्लान नै जे होस् फिल्म राम्रो बनेको छ सम्पूर्ण सेर्कु टीमलाई हार्दिक बधाई तथा अझ सफलताको शुभकामना व्यक्त गर्दछु।धन्यवाद।

थप समाचारहरु

Latest News