“मायाको खानी प्रिय सुनापति”
September 14, 2018 | Gyanlama | 1:58 am

“मायाको खानी प्रिय सुनापति”
न गर्मी न जाडो , न घाम न पानी
बिहानी उदाएको रविको किरण
तिम्रै काखमा छरपस्ट भै रहदा
कोसीले मिठास सङ्गीत सङ्गै
अनि अलिकती शिर उठाएर हेर्दा
ठम्याउन नसकिएको बस्ती
चोर औंला त्यतै तेर्स्याउदै
आङा उ ….तेता हेर त
क्षितिज चुमि रहेको
स्वागतमा पर्खी रहेको छ
आज तिमी पवित्र भूमिमा पाइला टेक्दै छ ।

मखमली झै ढकमक्क फुलेको छाती
सुस्तरी चली रहेको पाइला
एकाएक वेगले चल्न थाल्यो
मन उडेर त्यही डाडामा पुग्दा
खुसीले सीमा नाघ्यो
साच्चै खुसीले अर्धचेत हुँदै
कल्पनाको सागरमा डुब्दै निस्किदै गर्दा
कोसीमाथिको झुलुङ्गे पुल
हामीले पाइला चाल्दा लचक्क लच्किने
मेरो त्यतै लम्किएको पाइलामा
न डर थियो न त्रास मात्र थियो उल्लास ।

नागबेली मोटर हिड्ने कच्ची बाटो
उफाराइ र थेचाराइ बीच पनि
गफैमा मस्तिएका हामी
गुड्दा गुड्दै पनि गच्याक्क रोकिदा
स्पर्श गरेको चिसो हावा रुपाकोटको डाडा
मेरै स्वागतमा मुस्कुराउदा
आङा ओर्लिनुस अब यही हो
अरुलाइ पछि पारेर अगाडि ओर्लिन चाहने मन
साच्चै अदृश्य अनि अजिव थियोे
थुनुवाबाट मुक्त मानव अनि पिजडाको पंक्षि झै
तहस नहास हुँदै लम्कायौ अघि पाइला ।

उमेरले डाडा कटि सकेका बाआमाको
उमंगले गदगद भएको अनुहार
त्यो मन र आत्मले भन्दै थियो
माया ! तिमी आउँदा खुसी सङ्गै आयो
तिमी जादा खुसी पनि सङ्गै जानेछ
आखाको ढिल ढिल सम्म टिल्पिल आँसु
अब खस्न नपरोस मैले यहीँ चाहे
मनलाई दह्रो पारे अनि ढोक गर्दै
आमा मलाई आशिर्वाद दिनुस
पक्कै पनि म दिल माया झै साहसी हुनेछु ।

भोलि बिहानीको आशमा
जब सन्ध्या साझले छोप्दै ल्यायो
चन्द्रमाको उज्यालोमा ग्रहण लाग्दा
आकाशमा तारा र जुनकीरी चम्के झै
हात हातमा उज्यालो बल्न थाल्यो
वाह ! अविस्मरणीय क्षण
रगतको नाता हैन आत्मिक नाता
यो मन देखि त्यो मन सम्म जोडिएको त्यो दिन
मीठो कल्पना सङ्गै असिम प्यारको सागरमा पौडिदा
सारा खुसीहरु समयको झोलामा राख्दै
निन्द्र देविको काखमा लम्पसारियौ ।

आङा ! हामी हाम्रो गन्तब्यमा पुग्नुछ
बाटै भरी विदाइको सगुन हुनेछ
उ त्यहाँ फुलेको को म्हेन्दोले सुरक्षा दिनेछ
जसरी को म्हेन्दो सुरक्षित फुलेको छ
मेरी आङा ! तिमी पनि को म्हेन्दो झै
सुरक्षित र भमराले चुस्न नसक्ने
चोखो र पवित्र हुनुपर्छ
यही बस्ती , बा आमा र मेरो आशीर्वाद तिमीलाई ।
यसरी माया र आशीर्वादको पोको बोकी
जुनकीरीको मधुर उज्यालोमा
बाटै भरिको सगुनले चोखिदै
सुनपती बेथान , भ्वासा र रुपाकोट छाड्दै
मैले बिदाइको हात हल्लाउदा
कहिले नफुस्किने गरि
झ्याप्प्प अङ्गालो मार्न आइ पुगेको
मैले कहाँ तिमीलाई भूल्न सक्छु र
त्यसैले त मेरो मनमा फुलेको
माइती गाउँ , आस्थाको दियो
तिमीलाई ओइलिन र निभ्न अधिकार छैन है
स्मृतिमा सदा जीवित रही रहनेछ …….
– रचना मोक्तान “यात्री”
नमोबुद्द नगरपालिका वडा न ५, काभ्रे

थप समाचारहरु

Latest News