रचना मोक्तानको “मर्म स्पर्शी चिठी ” उहाँको दाइ समक्ष पुगोस !!!
June 28, 2018 | Gyanlama | 3:20 am

ङाला ज्योज्यो ,फ्याफुला !
अनिश्चितकालीन जीवनको मीठो सम्झना । विरक्तले भरिएको शब्दहरु खै कसरी अक्षररुपी सन्चारको दुनियामा व्यक्त गरु । भावनाको सागरमा पौडिदै निस्किदै गरेको ती आत्मीय पल जहाँ निस्वार्थ माया प्रेम र सम्मान बाहेक केही पनि थिएन । इन्टरनेटको दुनियाँमा इन्टरनेटबाटै परिचित हामी एक अर्काको मन मस्तिष्कमा बस्न सफल भएका थियौं । मलाई लाग्दैथ्यो मेरो जीवनको अर्को अध्याय शुरु भयो । ठेट अर्थमा भन्दा मेरो अभिभावक थपियो । जहाँ मैले धेरै माया आशा अनि विश्वास पाए । सायद यस्तो अवसर कमै मात्र व्यक्तिलाई प्राप्त हुन्छ त्यस भित्र म एक भाग्यमानी व्यक्ति हु जसले हजुर जस्तो इमानदार र कर्तव्य निष्ठा दादा पाए । मनमा लागेको कुरा विना हिचकिचावट व्यक्त गरे ।
भन्छ्न नि मह नि धेरै खायो भने तितो हुन्छ । हो म उहीँ मह धेरै चाहिने लोभी अनि समय परिस्थितिको ख्याल नराखी बोली हाल्ने मुखाले । आत्म ग्लानीले पोलिरहेको छ । पछुतोले निद हराएको छ अनि दादा लेखी रहदा आसुको मूल फुटी रहेको छ । धारा प्रवही बोल्ने हामी आज एक दिन कम बोल्दा जीवनमै सर्वस्व अमूल्य वस्तु गुम्न पुगेको झै लाग्दैछ । हरेक च्याटमा “आङा” शब्द मेरो लागि कति प्रिय र प्यारो थियो त्यो म बाहेक अरुलाइ थाहा छैन फेरि मैले मात्र महसुस गर्न सकिने कुरो न पर्यो । दादा आफूले चाहेको पूरा होस भन्ने चाहना त प्रत्येक व्यक्तिमा हुन्छ तर आफैले चाहनु र अरुको रहरले चाहनुमा भने आकाश पातलले फरक हुँदा रहेछ्न । आफैले चाहेको हर कुरा कसै गरि गुमाउन चाहन्न भने अरुले चाहेको त कारणबस गुम्न पुगे पनि सजिलै बिर्सन सकिदो रहेछ । मलाई माफ गर्नुस हरेक जीवित प्राणीमा गुण र बैगुन दुबै हुन्छ तर एउटा कुरा नि हजार वटा गुनलाइ एउटै बैगुनले समाप्ति पार्छन रे ।
मलाई विश्वास छ गल्ती भित्र नि सहि खोज्न सक्ने अदम्य साहासको धरोहर हजुरमा छ । सय पटक नाप्ने एकै पटक काट्ने क्षमता तपाइमा छ । कहिले कहि एक अर्कालाई बुझेर पनि शब्दहरुको जुहारी पर्दा मन कुडिने स्थिती भै दिए फेरि त्यो नि ख्याल ख्यालमै । आधी र रिस एउटै हुन एक्कासि आउछ्न र गए पछि थाहा हुन्छ के कति क्षति भयो भन्ने । हो यस्तै मनमा लागि रहेको छ । मलाई त औपचारिक र अनौपचारिक दुबै स्वाभाव चाहिन्छ । औपचारिकले सीमित घेरामा मात्र सीमित पार्छ्न भने अनौपचारिकले खुल्ला मनका कुना कन्दरामा पुग्न सहयोग गर्छ । यसो भनी रहदा म मैले सोचेको र जोडेको नाताबाट गिरेर बोल्दै छु नसोच्नुस किन कि म हजुरलाई मेरो सम्मानित दादा बाहेक अरु नजरले हेर्न सक्दिन र हेर्दिन पनि ।
मलाई विश्वास छ र भै रहने छ हामी उहीँ निस्वार्थ दाजुबहिनी मात्र हुनेछ । दादा हजुर त मेरो थकाइ लागेको बेला विश्राम लिने चौतारी पो हो नि । यदि चौतारी भत्किन थालियो वा कमजोर भो भने मैले विश्राम लिने ठाउँ कहाँ हुन्छ र? चौतारीले आफ्नो महत्व छैन सोच्लान तर त्यहा आराम गरेर सुन्दर भविष्यको कल्पना गर्ने यात्रीको जीवनमा त्यस चौतारीको महत्व भने कम हुँदैन । त्यसैले दादा बिन्ती गर्छु म मलाई मेरो अहिलेको दादा हैन सुरुदेखिको दादा चाहिन्छ । मलाई माया र विश्वास गर्ने दादा चाहिन्छ ।
अब म गल्ती दोहोर्याउने छैन र हजुरलाइ राम्रो सङ्ग बुझी रहेको छु नबुझेको जस्तो नि गर्दिन । मलाई आफ्नो आङा सम्झी दिए पुग्छ । फुर्सदमा आङा शब्द प्रयोग गरि दुइचार शब्द बोली दिए पुग्छ । यी शब्दहरु कागजमा लेखिएको हैन आत्मै देखि लेखिएर राखेको शब्द हुन । आत्ममा लेखिएको शब्द चितामा शरीर जल्दा मात्र मेटिन्छ होला । त्यसैले दादा भावनाका दुइचार शब्द कोरे गल्ति भए माफ पाउ ।
उही हजुरको आङा
रचना मोक्तान ‘यात्री’
मिति : २०७५/३/१४ काभ्रे

थप समाचारहरु

Latest News