मनसुन सुरु, बाढी व्यवस्थापन तयारी शून्य
May 24, 2018 | Gyanlama | 5:31 pm

A truck drive past a stuck vehicle in a water logged road in Teku, Kathmandu on Saturday, June 2, 2018.
Photo: Bijay Gajmer/Republica/Nagarik

काठमाडौंकाे टेकुमा वर्षाकाे पानीले जलमग्न भएकाे सडकमा ट्रक।तस्विर :विजय गजमेर
agni
गत शुक्रबारबाट देशभर मनसुन सुरु भयो । मनसुन भित्रिएसँगै उपत्यकासहित देशभर नै भीषण वर्षा हुने गर्छ । वर्षात् हुनेबित्तिकै काठमाडौं उपत्यकाको सडक जलमग्न हुने गर्छन्।

जलमग्न सडककै कारण उपत्यकामा डुबान मात्रै होइन, गम्भीर प्रकृतिका दुर्घटना समेत हुँदै आएका छन् । गत असार ३० गते युरिका हाई स्कुल, मनमैजुस्थित कक्षा ३ मा अध्ययनरत १० वर्षीया विनिता फुयाँल घर फर्कने क्रममा ढलमा डुबेर गम्भीर घाइते भएकी थिइन्।

घाइते बिनितालाई स्थानीय चौमतीखोलाबाट उद्धार गरेर त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको थियो । विनिताको मृत्यु भएको भोलिपल्टै बृहस्पति विद्या सदन, नक्सालमा पढ्ने सत्या सापकोटा विद्यालयबाट फर्कंदै गर्दा सामाखुसी चोकस्थित ढलमा खसिन् । उनलाई उद्धार गरियो । तर, उनी ढलमा खसेको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल बने । जताततै अव्यवस्थित र धरापजस्तै ढल र सडक रहेको भन्दै सर्वत्र विरोध भयो । यो दुर्घटना भएको पनि एक वर्ष हुन लाग्यो । तर, सम्बन्धित सरोकारवाला निकायले उपत्यकाका अव्यवस्थित र धराप ढल व्यवस्थित गर्नेतर्फ पर्याप्त तयारी गरेको देखिँदैन।

सामाखुसीका स्थानीय सरस्वती मानन्धर गत वर्ष भेलबाढीले सामाखुसीमा स्कुले बालिका बगाएसँगै वर्षायाममा आफ्ना कलिला नानीबाबु स्कुल पठाउन डर लाग्ने बताउँछिन् । ‘पानी पर्दा सडक जलमग्न हुन्छन्, हामी ठूला मान्छेलाई त सडक पार्न गर्न हम्मे पर्छ,’ उनले भनिन्, ‘स–साना बच्चालाई कति गाह्रो होला ?’ उनले गत वर्ष सामाखुसीमा एक बालिका बगेको ठाउँमा मात्रै रेलिङ लगाएको गुनासो गरिन् । ‘एउटी स्कुले नानी खसेको ठाउँमा मात्रै रेलिङ लगाइएको छ,’ उनले भनिन्, ‘अन्य ठाउँमा भने पहिलाको जस्तै देखिन्छ ।

सडक विभाग प्रवक्ता मुक्ति गौतम भन्छन्, ‘सडक विभाग मातहतमा पर्ने क्षेत्रको अकासेपानी मात्र हामीले व्यवस्थित गर्ने हो, सबै बस्तीका ढलको जिम्मेवारी हामी लिन सक्दैनौँ ।’
महानगरपालिकाले तत्कालै खुला ढललाई व्यवस्थित गर्नुपर्छ । नत्र फेरि दुर्घटना दोहोरिन सक्छ ।’काठमाडौं महानगरपालिका– २६ का वडाध्यक्ष ख्यामराज तिवारी पुराना बस्तीमा राणाकालीन समयका ढलका पाइप रहेकाले व्यवस्थापनमा चुनौती थपिएको बताउँछन् । ‘राजधानीमा बस्ती बाक्लिँदै गयो, पुरानै ढलले काम चलाउन खोज्दा समस्या भएको हो,’ उनले भने, ‘गत वर्ष सामाखुसीमा एकस्कुले बालिका खसेको स्थानमा रेलिङ लगाएका छौँ । अन्य स्थानमा सडक विस्तार हुने क्रममा रहेकाले रेलिङ लगाएका छैनौँ।’

उनका अनुसार महानगरभित्र ढलको नाली सानो र भेलबाढी ठूलो भएकाले अकासेपानी व्यवस्थापनमा समस्या आएको हो । ‘सामाखुसी खोला नै छोपिएको छ, त्यसैले वर्षात्मा पानी निकासको समस्या देखिएको हो । अर्काेतर्फ बाँसबारी, टोखा लगायत स्थानबाट सोझै भेलबाढी सामाखुसीमा आउने गर्छ । जसकारण ढल व्यवस्थामा समस्या भएको हो,’ उनले भने, ‘वडा कार्यालयले आफूसँग रहेको सीमित स्रोत–साधन उपयोग गरेर मंगाल तथा नाली सफा गरिरहेको छ ।’

पूर्वाधार विज्ञ सूर्यराज आचार्य राजधानीको ढल निकास प्रणाली व्यवस्थित नहुँदा सडकमा पानी जम्ने गरेको बताउँछन् । ‘योजनाविनै हचुवाका भरमा ढल बनाउँदा अहिले समस्या देखिएको हो,’ उनले भने, ‘अधिकांश सडकमा सानो क्षमताका ढल–पाइप छन्, त्यसमा घर–घरबाट निस्कने फोहोरमैला र अकासेपानी दुवै मिसाउँदा ओभर–फ्लो भएको हो ।’ आचार्य अव्यवस्थित सहरीकरणका कारण उपत्यकाको सडक र ढल अस्तव्यस्त भएको बताउँछन् । फोहोरमैला र ढलको छुट्टाछुट्टै व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ।

राजधानीमा खानेपानी तथा सरसफाइ मन्त्रालय, खानेपानी तथा ढल निकास विभाग, सडक विभाग, डिभिजन सडक कार्यालय, काठमाडौं उपत्यका सडक विस्तार आयोजना, क्षेत्रीय सडक निर्देशनालय, अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौं उपत्यका विकास प्राधिकरण, काठमाडौं महानगरपालिकासहित अन्य नगरपालिका, ढल महाशाखा लगायत निकायले यहाँको ढल व्यवस्थापनको जिम्मा पाएका छन् ।
‘हाम्रोमा योजना बनाउँदा अकासेपानी व्यवस्थित गर्नेतर्फ तयारी नै गर्दैनौँ । जसकारण वर्षात्मा भेलबाढी जलमग्न हुने अवस्था आएको हो,’ उनले भने, ‘अब महानगरपालिकाले दीर्घकालीन रूपमा अकासेपानीको व्यवस्थापनतर्फ ध्यान दिनुपर्छ ।’ जनसंख्याको चाप र बस्ती विस्तारका कारण पुराना ढलले थेग्नै नसक्ने अवस्था आएको उनी बताउँछन् । ‘उपत्यकामा ढल व्यवस्थापनका लागि एकीकृत गुरुयोजना बनाएर अघि बढ्नुपर्छ,’ आचार्यले भने ।

वडाध्यक्ष तिवारीका अनुसार अहिले जमल, पुतलीसडक, सहिदगेट, रत्नपार्क, ठमेल लगायत क्षेत्रमा पुरानै संरचनाबाट ढल निकास भइरहेको छ । सामाखुसी–महाराजगन्ज, बौद्ध–जोरपाटी क्षेत्रमा मात्र होइन, राजधानीका अधिकांश सडक पानी पर्नेबित्तिकै खहरे खोलाजस्तै बन्छन् ।

ढलको उचित व्यवस्थापन नहुँदा बौद्ध, जोरपाटी, चाबहिल, महाराजगन्ज, सामाखुसी, गोंगबु, बालाजु, पुतलीसडक, सहिदगेट, जमल, लैनचौर, टुकुचा, तीनकुने, बानेश्वर, माइतीघर, थापाथली लगायत क्षेत्रमा पानी जम्ने समस्या छ । खानेपानी तथा सरसफाइ मन्त्रालयका पूर्व सचिव भीम उपाध्याय अव्यवस्थित सहरीकरणले नै ढल व्यवस्थापनमा कठिनाइ भएको बताउँछन् । ‘पहिला वन र छेउछाउका जमिनले पानी सोस्थ्यो, अहिले जताततै कंक्रिटका भवन बनेका छन्,’ उनले भने, ‘त्यही कारण सडकभरि पानी छताछुल्ल देखिएको हो ।’ उनका अनुसार अहिले उपत्यकाको ढल संरचनाले वर्षायामको पानी धान्न सक्दैन।

सडक विभाग प्रवक्ता मुक्ति गौतम सर्वसाधारणले जथाभावी नालीमा फोहोरमैला फ्याँक्दा ढल साँघुरिँदै गरेको बताउँछन् ।‘सडक किनारामा राखिएका नाली फोहोरमैला फ्याँक्ने भाँडोजस्तै भएका छन्,’ उनले भने, ‘जथाभावी फोहोरमैलाकै कारण नाली पुरिएर समस्या भएको हो । सडक विभागले गत पाँच दिनदेखि मजदुर खटाएर नाली सफा गर्ने अभियान सुरु गरेको छ ।’ उनका अनुसार काठमाडौं जिल्लाको विभिन्न चार ठाउँमा टोली खटाएर नाली तथा सडक किनारा छेउछाउ सफा गर्ने काम भइरहेको छ ।
‘सडक विभाग मातहतमा पर्ने क्षेत्रको अकासेपानी मात्र हामीले व्यवस्थित गर्ने हो, सबै बस्तीका ढलको जिम्मेवारी हामी लिन सक्दैनौँ,’ उनले भने।

क्षेत्रीय सडक निर्देशनालयका निर्देशक शिवहरि सापकोटा उपत्यका मातहतका सम्पूर्ण डिभिजन सडक कार्यालयलाई वर्षात्का बेला ढलको नाली तथा मंगाल सरसफाइ गर्न निर्देशन दिइसकेको बताउँछन् । ‘नाली तथा मंगाल सफा गर्न निर्देशन दिइसक्यौँ,’ उनले भने, ‘अहिले सफा गर्ने काम भइरहेको छ ।’
कंक्रिटका कारण पानी सोस्नै छाड्यो

काठमाडौं उपत्यका जनसंख्या र जनघनत्व बढेसँगै प्राकृतिक ढंगले जमिनमुनि पानी सोस्ने क्रम ह्वात्तै घटेको छ । एकातर्फ कंक्रिट नै कंक्रिट र अर्काेतर्र्फ प्राचीनकालीन राजकुलो तथा नदी क्षेत्रमा बढ्दो अतिक्रमणका कारण पनि समस्या निम्तिएको हो । उपत्यकामा बाक्लो कंक्रिटको बस्तीका कारण प्राकृतिक रूपमा जमिनमुनि पानी सोस्ने क्रम घटेको छ । यसले पानी निकास थप जटिल बनेको हो । ‘पहिले प्राकृतिक रूपमा पानी सोस्ने प्रक्रिया भइराख्थ्यो,’ पूर्वाधारविज्ञ आचार्यले भने, ‘अहिले जताततै कंक्रिटका भवन बने, खोला–नदी अतिक्रमणमा परे, सडकमा पानी जम्छ ।’
छैन राम्रो तयारी

काठमाडौं उपत्यकामा दर्जनभन्दा बढी ढल व्यवस्थापन गर्ने सरकारी संस्था रहे पनि उचित ढंगले भेलबाढी व्यवस्थापन गर्नेतर्फ तयारी गरेको पाइँदैन । सडक विभागका प्रवक्ता गौतमले विभाग मातहत पर्ने सडकमा चारवटा टोली खटाएर नाली सफा गरिरहेको दाबी गरे ।काठमाडौं महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्कीले महानगरले ढल व्यवस्थापनमा छुट्टै कार्यक्रम अघि नसारे पनि वडा कार्यालयलाई नाली तथा मंगाल सफा गर्ने जिम्मेवारी दिइएको बताए ।

‘वडाका ढल तथा नाली व्यवस्थापनको जिम्मा वडाध्यक्षलाई सुम्पिएका छौँ,’ उनले भने, ‘सोहीअनुसार नै वडाध्यक्षहरुले काम गरिरहनुभएको छ ।’ उनका अनुसार सडकका माटो, बालुवा, तथा फोहोरमैला नालीमा थुप्रँदा ढल पुरिने समस्या देखिएको हो । ‘जनताको जिउधनको सुरक्षा गर्ने जिम्मेवारी महानगरको हो,’ उनले भने, ‘जिम्मेवारी महानगरको भन्दैमा जनताले असावधान भएर हिँड्नु नि भएन नि ।’ उनले पनि काठमाडौंको अधिकांश स्थानमा राणाकालीन ढल भएकाले व्यवस्थापनमा समस्या थपिएको बताए ।निकाय धेरै, जिम्मेवारी लिने छैनन्

काठमाडौं उपत्यकाको ढल व्यवस्थापनका लागि एक दर्जनभन्दा धेरै सरकारी निकाय छन् । तर, ती कार्यालय कसैले पनि आफ्नो मातहत क्षेत्रको ढल व्यवस्थापनको जिम्मा जिम्मा लिन चाहँदैनन् । राजधानीमा खानेपानी तथा सरसफाइ मन्त्रालय, खानेपानी तथा ढल निकास विभाग, सडक विभाग, डिभिजन सडक कार्यालय, काठमाडौं उपत्यका सडक विस्तार आयोजना, क्षेत्रीय सडक निर्देशनालय, अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौं उपत्यका विकास प्राधिकरण, काठमाडौं महानगरपालिकासहित अन्य नगरपालिका, ढल महाशाखा लगायत निकायले यहाँको ढल व्यवस्थापनको जिम्मा पाएका छन् । कुनै पनि निकाय ढल व्यवस्थापनको जिम्मेवारी स्विकार्न तयार छैनन्।

उनीहरू एकले अर्काेलाई दोष दिँदै पन्छिने गरेका छन् । खानेपानी तथा ढल निकास विभागका अधिकारीहरू आफ्नो कार्य क्षेत्र सहरीभन्दा ग्रामीण भएको दाबी गर्छन् । सडक विभागका प्रवक्ता गौतमले विभाग मातहत रहेका सडकको मात्रै ढल व्यवस्थापन गर्न सकिने बताउँछन् । काठमाडौं महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्कीले महानगर मातहत पर्ने सडकमा मात्रै आफ्नो कार्यक्षेत्र पर्ने भनेर पन्छिन्छन् ।

थप समाचारहरु

Latest News